काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने बताए ।
बीमा कम्पनीलाई दिने कुरा आफूले बुझ्न नसकेको भन्दै पुनरावलोकन गर्न आग्रह गरे। उनले स्वास्थ्य बीमालाई नाफासँग जोडेर नहेर्न भन्दै थपे, यो युनिभर्सल कभरेजसँग जोडिएर आएको हो। नाफा र नोक्सानसँग जोडिएको होइन।