काठमाडौं । भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति दिइएको छ । ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीले १ वर्षका लागि अनुमति दिएको हो।
उक्त अस्पताल भक्तपुर नगरपालिकाले सञ्चालन गरेको हो। गत १ फागुनबाटै लागू हुने गरी सय शय्या सञ्चालन अनुमति दिइएको नगरपालिकाले जनाएको छ । उक्त पत्र सोमबार मात्र नगरपालिकामा आएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले सय शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नगरले २५ शय्याको ख्वप अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयास गर्दै आएको थियो।
ख्वपले दैनिक ६ सयभन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा ख्वप अस्पताललाई सय शय्यामा स्तरोन्नति गरी सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरिएको थियो।