काठमाडौं । कोसी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई गर्ने निःशुल्क डायलसिस उपचारमा सास्ती बेहोर्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । विराटनगरका नागरिक अगुवाले यसबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यज्ञ खरेलको ध्यानाकर्षणसमेत गरेका छन् ।
पब्लिक फोरम अध्यक्ष उत्तम ढुङेलको अगुवाइमा रहेको टोलीले मृगौला फेल भएका बिरामीलाई डायलसिस गर्नुअघि शरीरमा लगाइने फिस्टुला केनुला अस्पतालबाहिर लगाउन बाध्य पारिएकोबारे खरेललाई जिज्ञासा राखेका थिए।
डायलसिस निःशुल्क गर्ने तर फिस्टुला बनाउन अस्पतालबाहिर मोटो रकम खर्च गर्नुपर्ने बाध्यता बिरामीलाई रहेको र यो अपराध भएको नागरिक अगुवा दिनेश श्रेष्ठले बताए।टोल सङ्गठन विराटनगरका संयोजक राजेश मास्केले तत्काल फिस्टुला लगाउने कार्य थाल्न अनुरोध गरे। नागरिक अगुवा राजेन्द्र भट्टराई, इन्द्र नेउपाने, अमलेश कर्ण, श्याम कोइरालाले अस्पतालको बिमा सेवालाई द्रुत र सेवाउन्मुख गराउन माग गरे।
समयमा डाक्टर नभेटिने समस्या कोसी अस्पतालको रहेको भन्दै टोलीले यो अवस्था सुधार्न आग्रहसमेत गरेको छ।जबाफमा खरेलले फिस्टुला लगाउने दक्ष जनशक्ति आफूले माग गरेको तर अहिलेसम्म उपलब्ध गराउन नसकेको बताए । उनले अस्पताल सुधारका लागि आफू दतचित्त भएर लागेको भन्दै आमनागरिकको सकारात्मक दबाब सधैं खाँचो रहेको पनि बताए।