मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि समयमै नपुग्दा बिरामीलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा औषधि नहुँदा तथा कार्यरत स्वास्थ्यकर्मीसमेत नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुकको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन्।
मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेव र अनमी गरी दुई जनाको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा गाउँमा कोही बिरामी पर्दा सिटामोलसमेत पाउन मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ । जसकारण त्यहाँका बिरामी झारफुक र झाँक्रीको भरमा बस्ने गरेका हुन् ।
४०० घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरु बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौँ मूल्यका भवनहरुमा माकुराको जालो लाग्न थालेको छ।
यहाँका स्थानीयलाई बिरामी पर्दा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला जानुपरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयास भइरहेको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले बताए ।