काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने विषयमा दुवै मुलुकबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। समझदारीको मस्यौदा दुवै मुलुकका प्रतिनिधिसम्मिलित समितिले तयार पारिसकेको बताइएको छ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो।
पहिलो चरणमा बेलायतमा २ हजार नर्स पठाउने तयारी रहेको सरकारले जनाएको छ। बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी थिइन्। श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलोपटक नेपालीहरुले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको भन्दै मन्त्री श्रेष्ठले मस्यौदा समितिका सदस्यहरुलाई धन्यवाद दिएका थिए।