काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् ।
मेयर बालेन्द्र साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका छन् ।
उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् । अस्पतालका अध्यक्ष डा। मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहिन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’
काठमाडौं महानगरका मेयर साहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ रु सहकार्य कसरी हुनसक्छ रु बार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए । मेयर साहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरु लिएर आउनेसँग सहकार्य गरिने बताए । सो क्रममा कामपा १७ नं वडाका अध्यक्ष नविन मानन्धर समेत सहभागी थिए ।