काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, बागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ।प्रदेश १ तथा मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।