काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हालसम्म मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि नभएको दाबी गरेको छ। विदेशबाट आएका एकजना युवकमा मङ्कीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको समाचार आएपछि मन्त्रालयले ती व्यक्तिमा केही लक्षण देखिएपनि मङ्किपक्स नभएको बताएको हो।
मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नेपालमा अहिलेसम्म मङ्कीपक्स भाइरस देखिएको भन्ने जानकारी नआएको बताए । डा.अधिकारीले मिल्दोजुल्दो केहि लक्षण देखिएको तर, मङ्कीपक्स नै हो भन्ने पुष्टि नभएको बताए । अधिकारी भन्छन्, हामीले निगरानी गर्ने क्रममा मिल्दोजुल्दो लक्षण भेटेमा विशेषज्ञ चिकित्सकसँग छलफल गर्न भनेका छौ।
तर, अहिलेसम्म मङ्कीपक्स भाइरसको पूर्ण लक्षण भएको बिरामी भेटिएको भन्ने जानकारी आएको छैन् । त्यस्तै उनले मङ्कीपक्स भाइरस पुष्टि नभइसकेकोले नआतिन तर, सचेत रहन आग्रह गरेका छन्। साथै मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिए सरकारले औपचारिक रूपमा जानकारी गराउने पनि प्रष्ट पारे । बिहीवार दुबईबाट हालै नेपाल आएका एक युवकमा मङ्कीपक्स भाइरसको मिल्दोजुल्दो लक्षण देखिएको र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको भन्ने समाचार आएको थियो।