काठमाडौं । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ । जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो ।
यो शुल्क चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शैक्षिक सत्र २०७८/०७९का लागि गत वर्ष कायम भएको शुल्कमा ३.६ प्रतिशत वृद्धि गरिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।
उनले आयोगको कार्यकारी समितिबाट गठित शुल्क सिफारिस कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशत वृद्धि गर्दा एमबिबिएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रूपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपियाँ पुग्न गएको बताए ।
गत वर्ष एमबिबिएसमा उपत्यकाभित्रका लागि आयोगले ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ कायम गरेको थियो ।