काठमाडौं । अमेरिकी सहयोगमा बालबालिकाका लागि प्रयोग हुने २२ लाख डोज कोभिड खोप आइतबार नेपाल आइपुगेको छ। अमेरिकी सहयोगमा फाइजर खोप नेपाल आइपुगेको अमेरिकी दूतावासले जनाएको हो।
उक्त खोप सरकारले यही असार दोस्रो सातबाट ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गर्ने खोप अभियानमा प्रयोग गरिनेछ। योअभियानमा ८४ लाख मात्रा फाइजर खोप सुनिश्चित भइसकेको सरकारले जनाएको छ।
खोप अभियान पहिलो चरणमा २७ र दोस्रो चरणमा ५० वटा जिल्लामा विद्यालयमार्फत् सञ्चालन गरिनेछ। उक्त उमेर समूहका करिब ४० लाख बालबालिका रहेको जनाइएको छ।खोप अभियानअन्तर्गत पहिलोमात्रा असार ९ देखि १५ गतेसम्म र साउन २ देखि ८ सम्म दोस्रो मात्रा दिइनेछ। दोस्रो चरणको खोप अभियान भने भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ सम्म सन्चालन हुनेछ।