काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बीमा बोर्डबाट रकम भुक्तानी लिएको खुलासा भएको छ । अस्पतालले गत शुक्रबार एक सुचना जारी गर्दै आगामी दिनमा स्वास्थ्य बीमा सेवा स्थगित गरिएको सार्वजनिक गरेको थियो ।
सुचनामा बीमा बोर्डबाट रकम भुक्तानी नभएका कारण अस्पताल बीमा बापतको सेवा दिन नसक्ने अवस्थामा पुगेको बताइएको थियो । सुचनामा भनिएको थियो, २०७७ मंसिर महिनादेखि यस अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितहरुको उपचार सेवा प्रदान गरे बापत स्वास्थ्य बीमा बोर्डले यस अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकाले मिति २०७९ अषाढ १५ गतेदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ,’ ।
तर हालसम्म त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा बापत ६ करोड ९१ लाख ८३ हजार ८२४ रुपैयाँ भुक्तानी लिइसकेको खुल्न आएको छ । बीमा बोर्डका अनुसार केही रकम भुक्तानी हुन बाँकी भएपनि सुरुदेखि नै भुक्तानी नभएको भन्ने कुराको खण्डन गरेको छ । बोर्डले ६ करोड ७४ लाख ७४ हजार ५०२ रुपैयाँ रकम भने भुक्तानी दिन बाँकी छ ।
बीमा बोर्डका एक कर्मचारीले बीमा कार्यक्रमलाई असफल बनाउने सरकारको प्रयास सफल हुने नदेखेपछि अस्पतालहरुलाई प्रयोग गरिएको दाबी गरे ।


