काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिए । बागबजारमा दुई तथा भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजाको जिवाणु भेटिएको जानकारी अधिकारीले दिए । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो ।’
विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप अनुसन्धान र लक्षण भएका हैजाका विरामीको खोजी भइरहेको जानकारी पनि दिए ।
वागबजारका दुई जना १८ र २३ वर्षीय युवतीमा असार ५ गते तथा भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा मंगलबार हैजा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको हो भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।