काठमाडौं । राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले ५ वर्षभन्दा कम उमेरका ८० लाख बालबालिकाहरु गम्भीर खालको कुपोषणबाट मृत्यु हुने अवस्थामा पुगेको तथ्यांक सार्वजनिक गरेको छ।तीमध्ये अधिकांश बालबालिकाहरु खाना तथा स्वास्थ्य सेवाबाट वञ्चित अफगानिस्तान, इथियोपिया, हैटी र यमनसहित १५ मुलुकका रहेको जनाइएको छ।
गत वर्ष तालिबानले कब्जा गरेपछि अफगानिस्तानको अवस्था पनि निकै दयनीय भएको बताइएको छ। एक अनुमानअनुसार अफगानिस्तानमा यो वर्ष ११ लाख बालबालिकाहरु भोकमरीबाट पीडित हुनेछन्। कुपोषणबाट पीडित बालबालिकाहरुमा प्रतिरक्षा प्रणालीसमेत कमजोर हुने भएकाले रोग लाग्ने सम्भावना हुन्छ।
अल्पपोषण प्रतिरक्षा प्रणाली कमजोर हुने कारण बन्छ। राम्रो पोषण पाएका बालबालिकाको तुलनामा कुपोषण भएका ५ वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको खतरा ११ गुणासम्म बढाउँछ।
युनिसेफको रिपोर्टका अनुसार सन् २०२२ को सुरुदेखि नै थप २ लाख ६० हजार बालबालिकालाई कुपोषणग्रस्त छन्। युक्रेन युद्ध र विश्वका विभिन्न मुलुकमा जलवायु परिवर्तनका कारण उत्पन्न सुख्खाका कारण खाद्यान्नको मूल्यवृद्धि भएको छ। जसका कारण कुपोषणग्रस्त बालबालिका थपिने क्रम जारी छ।
युनिसेफले खाद्यान्न संकट अन्त्य गर्न १।२ अर्ब डलरको सहायता प्याकेज तत्काल आवश्यक भएको जनाएको छ। युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले जर्मनीमा हुने जी सेभेनको मन्त्रीस्तरीय बैठक यस्ता बालबालिकालाई बचाउन उपयुक्त अवसर हुने बताएकी छन्।