काठमाडौं । भरतपुर महानगरपालिकाले प्रत्येक वडामा अस्पताल बनाई गुणस्तरीय स्वास्थ्य सेवाको अवधारणालाई अगाडि बढाउने अवधारणा अगाडि सारेको छ ।
शुक्रबार सार्वजनिक गरिएको महानगरको नीति तिथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो।यस्तै, भरतपुर महानगरपालिकाभित्र रहेका छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई निःशुल्क एकलाख बराबरको ‘छोरी जीवन बीमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा गर्ने घोषणा गरिएको छ।
महिला तथा जोखिममा रहेका समुदायसँग ‘मेयर कार्यक्रम’ अन्तर्गत विद्यालय शिक्षामा अति विपन्न किशोरीहरूको पहुँचविस्तार गर्न साईकल वितरणको कार्यक्रमलाई निरन्तरता दिने, ‘एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल’ लाई यथावत राख्ने, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिदैँ आएको निःशुल्क ओपीडी टिकट अनुदानलाई निरन्तरता दिइने उल्लेख छ।