काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले मेडिकल शिक्षाका लागि धेरै विद्यार्थी विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सातै प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउन लागिएको बताएका छन्।राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको विकास गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरुसँगको सहकार्यमा प्रदेश सरकारअन्तर्गतका अस्पतालमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइएको बताए। जसअनुसार सातै प्रदेशमा अहिले रहेका प्रचलित विश्वविद्यालयलाई जिम्मेवारी दिएर मेडिकल अध्ययन अध्यापन गराउनका लागि निर्देशन दिइएको र त्यसअनुसार प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए।
मन्त्री पौडेलले बुटबल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पताल, गेटा मेडिकल कलेज र सेती–महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सन्चालन गर्ने व्यवस्था मिलाइने बताए।