ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबिबिएस डाक्टर पढाउन आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
सहयोगवापत उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार सम्पन्न मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/०८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको जानकारी उनले दिए
गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिकाले उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए । उनले भने ‘डाक्टर पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।’
सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए । पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका केन्द्र साँघुमा एक जना एमबिबिएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । रासस