काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जिवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको बताए ।
‘चार वटा केस बाँकी छ, एउटा केस आईसीयूमा पनि गयो’ उनले भने।हैजाको उपचारका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ। हाल हैजाका बिरामीको निजी क्षेत्रको बयोधा अस्पताल र स्टार अस्पतालले पनि उपचार गरिरहेका छन्।
निर्देशक दासका अनुसार बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जिवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उनले बताए।