काठमाडौं । बाटोमा हिडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीले कुटपिट गरी निर्मम प्रहार गरेको छ । बिना गल्ती डाक्टरमाथि कुटपिट भएको भन्दै आफन्तले कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।
निवेदनमा आक्रमण गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापालाई आवश्यक कारबाही गर्न र घाइतेलाई सुरक्षासहित उपचार खर्च दिलाउन माग गरिएको छ। निवेदन कुटाइ खाने डाक्टर घिसिङका दाईले हालेका हुन्।
निवेदनमा पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्यूटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरिएको उल्लेख छ। कुटपिटका कारण डाक्टर घिसिङको नाकमा चोट लागेको र अल्का अस्पतालमा उपचार भइरहेको छ।

