सुनसरी । स्वास्थ्य बिमा बोर्डले बिमाको रकम भुक्तानीमा ढिलाई गर्दा समस्यामा परेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाबी गरेको बिमाको रकम अविलम्ब भुक्तानी नगरे स्वास्थ्य बिमा गरेकाहरूलाई बिमाबाट दिइने सेवा स्थगन गर्ने भएको छ ।
प्रतिष्ठानले एक सूचना प्रकाशित गरी अबिलम्ब बिमा रकम भुक्तानी नभए असार २० गते देखि अर्को सूचना जारी नहुन्जेल सम्मलाई बिमाबाट दिइने सेवा प्रतिष्ठानले स्थगन गर्ने भएको हो।
२०७४ साल साउनदेखि स्वास्थ्य बिमा मार्फत सेवाग्राहीहरूलाई सेवा दिइरहेको भएतापनि त्यसको शोधभर्ना रकम नपाउँदा समस्या परेको जनाएको छ । प्रतिष्ठानले दाबी गरे अनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन साथै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत सरोकारवालालाई पटक(पटक लिखित एवं बिमा बोर्डमा गई अनुरोध गरेको पनि जनाएको छ ।