काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तहमा बढुवाका लागि २ जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको बढुवा समितीको बैठकले १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको छ।
मन्त्रालयको एक उच्चस्थ स्रोतका अनुसार आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको हो । उनले दुई मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा सिफारिस गर्ने बताए।
गत माघ २ गते उमेर हदका कारण डा.भीमसिंह तिंकरीको अनिवार्य अवकाश पछि १२ औं तहको एक दरबन्दी रिक्त रहेको छ । बढुवाका लागि सिफारिसमा परेकी डा मिश्रामाथि गलत विवरण पेश गरेर स्वास्थ्य सेवाको एघारौं तहमा जागिर खाएको आरोप लागेको छ । लोकसेवा आयोगका पदाधिकारी,मुख्यसचिव, तथा बढुवा समितीका अन्य सदस्यहरुले मिश्रालाई बढुवाका लागि सिफारिस गरेको हो ।
मिश्राले सरकारी सेवामा प्रवेश गर्दा पूरा समय काम नगरी एक वर्ष सेवा अवधि बढाएर नक्कली कागज पेश गरी जागिर खाएको बताइएको छ । यसरी विवादमा तानिएकी मिश्रालाई बढुवा समितीले सिफारिस गरेको छ । स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ । तर, मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएकी थिइन् ।
अमेरिकामा पढ्न गएकी संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको मन्त्रालयको एक उच्चस्थ स्रोत बताउँछ ।