काठमाडौं । कृषिमा अत्याधिक मात्रामा विषादीको प्रयोग एक गम्भीर समस्याको रुपमा देखा परेको छ ।
विषादीले स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै प्रांगारिक खेती तर्फ जान सुझाव दिएको हो। जनस्वास्थ्यविद् डा. शरद वन्तले विषादीको प्रयोग र असुरक्षित व्यवस्थापनका कारण नेपालमा बढ्दो विषादीको समस्या जनस्वास्थ्यको चिन्ताको विषय बनेको बताए।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख डा महेश कुमार मास्केले कृषिमा हुने विषादी प्रयोगले तत्काल मात्र नभई दीर्घकालीन रुपमा समेत असर पुग्ने बताए। जमिनको उत्पादकत्व घट्दै गए भविष्यमा खाद्यान्नको महामारी आउन सक्ने उनले बताए।
नेपालमा आयात हुने कुल विषादीमध्ये ९० प्रतिशतभन्दा बढी तरकारी खेतीमा प्रयोग हुने गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठान अन्तर्गतको कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना क्षेत्रमा गरिएको अनुसन्धानले विषादी छर्कने अधिकांश कृषकहरुले टाउको दुख्ने, मांसपेशी दुखाई र श्वासप्रश्वासको समस्या जस्ता गम्भीर स्वास्थ्य समस्याहरुको गुनासो गरेको पाइएको थियो। परियोजनाकै अर्को अध्ययनले २० वर्ष मुनिका गर्भावस्थामा विषादीको सम्पर्कमा नआएका आमाहरुको तुलनामा सम्पर्कमा आएका आमाहरुले कम तौल भएका बच्चाहरु जन्माउने जोखिम नौ गुणाले बढी देखिएको थियो।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा िविषादीबाट पीडितको संख्या १० देखी १५ लाखको बीचमा भएको अनुमान गरेको छ । विषादीका कारण मृत्यु हुनेको अनुमानित संख्या ३,००,००० रहेको छ ।