काठमाडौं । राजधानीका विभिन्न ठाउँमा हैजाको संक्रमण देखिएपछि कांग्रेस नेता विश्वप्रकाश शर्माले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा एक सन्देशमूलक भिडियो सेयर गर्दै सचेत रहन आग्रह गरेका हुन् । उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरूले पनि पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिँदै आएका छन् ।
शर्माले पनि स्वास्थ्य मापदण्डका सबै नियम पालन गरी हैजा संक्रमणबाट बच्न सुझाव दिएका छन् । सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यसका कारण पानीका स्रोत प्रदूषित हुँदा हैजा फैलिने जोखिम बढ्छ भन्दै उनले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
पानी उमालेर मात्र पिउने,हातमुख राम्रोसँग धुने,फोहोर थुप्रिने ठाउँ सफा गर्ने लगायतका काम गरेर हैजाबाट हुने संक्रमण नियन्त्रण गर्न सकिने शर्मा बताउँछन् ।