काठमाडौं । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा दर्ता नभएका या अनुमति नदिएका कुनै पनि खोप या औषधिलाई आपतकालीन रुपमा प्रयोग नगरिने बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले डब्लुएचओले अनुमति नदिएका कुनै पनि खोपलाई आपतकालीन रुपमा प्रयोग नगरिने कुरामा विश्वास दिलाएका हुन्। उनले सम्बन्धित मुलुकले परीक्षण गरी नियामक निकायले दर्ता गरेकालाई मात्रै प्रयोग गरिएकाले यसबाट क्षति हुन्छ भन्ने त्रास लिन नपर्ने बताए।
डब्लुएचओले सूचीकृत गरेका, सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका र आपतकालीन प्रयोगको अनुमति दिएका औषधि तथा खोपलाई नेपालमा दर्ता गरी तिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने प्रयोजनका लागि औषधि ऐन ल्याइएको बताए।
मन्त्री खापुङले स्वास्थ्य संस्थामाथि हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने हातपातको घटना रोक्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक संशोधन गरिएको पनि बताए।