काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अस्पतालमा आइसियू सञ्चालनबारे अनुसन्धान गरिरहेको बताए ।
परिषद्ले शुक्रबार गरेको ‘अनुसन्धान सञ्चारमा आमसञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य क्षेत्रको वार्षिक बजेटको २ प्रतिशत रकम स्वास्थ्य अनुसन्धानका लागि छुट्याइनुपर्ने बताएका छन्।
उनले स्वास्थ्य अनुसन्धानका लागि स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा २ प्रतिशत रकम छुट्याउन माग गरिरहेको बताए। हाल परिषद्लाई त्यस्तो रकम ०.५ प्रतिशतमात्र छुट्याइएको जनाइएको छ।
डा ज्ञवालीले कसैले पनि स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न परिषद्बाट स्वीकृति लिनुपर्ने उल्लेख गर्दै नभए सचेत गराउनेसम्मका कारबाही हुने व्यवस्था रहेको बताए। नेपालमा क्लिनिकल परीक्षण गर्नेले पनि परिषद्मा दर्ता गराउनुपर्ने उनले बताए।डा.ज्ञवालीले हरेक वर्ष २ हजारदेखि ३ हजारसम्मको हाराहारीमा अनुसन्धान भइरहेको बताए।
तर अनुसन्धान अब गाउँपालिका तथा प्रदेशगत तहमा कसरी लैजाने भन्ने समस्या रहेको उनको भनाइ छ। परिषद्ले अनुसन्धान आफैं नगरी अरु संस्थालाई प्रोत्साहन गर्ने र परिषद्ले निगरानी गर्नेमा जोड रहेको पनि डा ज्ञवालीले बताए। कार्यक्रममा परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल, डा खेम कार्की, डा सुवास प्याकुरेल, उमेश चौहानले प्रस्तुति दिएका थिए।