काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन केन्द्रले निश्चित कम्पनीसँग मिल्ने गरी स्पेसिफिकेसन राख्दै ‘सेटिङ’ मा सीटी स्क्यान खरिद गर्न लागेको विषयमा बागमती प्रदेश लेखा समितिले छानबिन थालेको छ।
समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको हो। उपसमितिमा एमाले सांसद चन्द्रबहादुर लामा र विवेकशील साझा पार्टीका सांसद रमेश पौड्याल सदस्य छन्। समितिलाई साउन १० गतेसम्म प्रतिवेदन पेश गर्न समय दिइएको छ।
सीटी स्क्यान खरिद प्रक्रिया विवादमा परेपछि गत बैशाखको दोस्रो साता प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रदेशको कानुनका सहसचिवको अध्यक्षतामा प्रदेश लेखा नियन्त्रक र एक बायोमेडिकल इन्जिनियर सदस्य रहने गरी समिति बनेको थियो। तर छानबिन समिति कागजमा मात्र सीमित भएको थियो।