काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर चाँडो ल्याउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले कूटनीतिक पहल गरेर भएपनि छिटो ल्याउन सरकारलाई भनेको हो ।
गंगालाल हृदय केन्द्रमा अक्सिजेनेटर अभावमा मुटुको शल्यक्रिया रोकिएपछि संसदीय समितिले कानुनी सहजीकरण गरेर भएपनि चाँडो ल्याउन सरकारलाई निर्देशन दिएको हो।समिति सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कूटनीतिक पहलदेखि कानुनी बाधा अड्चन फुकाएर भए पनि चाँडो ल्याउन निर्देशन दिइन्।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कोरियाबाट केही दिनभित्रमा १० वटा अक्सिजेनेटर सहयोग आउन लागेको जानकारी पनि समितिमा दिइन्।गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले गंगालाल अस्पतालमा मात्र नभई नेपालका अन्य अस्पतालसँगै भारत लगायतका देशमा पनि अक्सिजेनेटरको अभाव भएको जानकारी दिए। उनले कोरोना महामारी र युक्रेन रसिया युद्धका कारण पनि मेसिनको आपूर्ति रोकिएको र अभाव भएको बताए।
डा अधिकारीका अनुसार नेपालमा बर्सेनि दुई हजार पाँच सय ओपन हार्ट सर्जरी हुने गरेकोमा १८ देखि १९ सयसम्म गंगालालमा हुँदै आइरहेको बताए। अक्सिजेनेटर ओपन हार्ट सर्जरीमा आवश्यक पर्छ।