काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरी बीचमै फर्किएका बिद्यार्थीहरुलाई दुई वर्ष नेपालमै पढ्न पाउने निर्णय गरेको छ ।
एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीहरु कोभिड–१९ महामारी सुरु भएपछि साढे २ वर्ष अध्ययन समय बाँकी रहँदैं नेपाल आएका थिए । उनीहरु नेपाल आएपछि चीन सरकारले कुनै पनि विद्यार्थीलाई पुनः अध्ययनका लागि फिर्ता हुन दिइरहेको छैन ।
काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो। विद्यार्थीहरुलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए।