काठमाडाैं । दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती गरिएको छ । देशको एक मात्र सरुवारोग अस्पतालमा कोरोना कालमा थपिएका २१ बेड आइसियू पनि कर्मचारी कटौतीसँगै बन्द भएका छन् ।
कोरोनाअघि तीन बेड आइसियू/भेन्टिलेटर रहेकामा संक्रमितको चाप बढेसँगै २४ पुर्याइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ असारमा निर्णय गर्दै १ साउनदेखि करारका सबै कर्मचारी कटौती गरेपछि विगतमा दिँदै आइएको सेवा दिन सकस भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
‘करारका ६८ कर्मचारीको म्याद नथपिएपछि बिरामीले निःशुल्क पाउने २१ बेड आइसियू सेवा दिन नसकिने अवस्था आयो । अब बिरामी धेरै आए पनि तीनवटाभन्दा धेरै आइसियू बेड चलाउन सकिँदैन । पिसिआर सेवा पनि पहिलेजस्तो दिन सक्ने अवस्था छैन । अस्पतालको सेवा प्रवाहमा सकस भएको छ,’ उनले भने । निजी अस्पतालमा आइसियू/भेन्टिलेटरमा बसेको एकै दिनको ४० हजारभन्दा बढी तिर्नुपर्छ ।