काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षको अवधिमा २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विवरण सार्वजनिक गरेको छ ।
सोमबार मात्र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियासँग स्पष्टीकरण सोधेका थिए। त्यसलगत्तै विभागले औषधि खरिदबारे स्पष्ट पारेको हो।
विभागले स्वास्थ्य राज्यमन्त्री हिरा केसीले सोधेको स्पष्टीकरण पत्रमा दाबी गरेजस्तो दुई वटा कम्पनीलाई मात्र ८० प्रतिशत खरिदको जिम्मा दिएको विषय पनि गलत रहेको दाबी गरेको छ।
विभागका अनुसार गत वर्ष सुरु भएका ७० वटा खरिद क्रियाकलापमध्ये ५७ वटा क्रियाकलापका लागि ६३ वटा सम्झौता भएको र ती सम्झौतामा ४१ वटा फरक कम्पनी रहेका छन्। विभागले ती सबै कम्पनीहरुको नाम पनि सार्वजनिक गरेको छ।
‘आव २०७८–७९ मा समाचारहरुमा उल्लेख गरे अनुसार १० अर्वको नभइ २ अर्व ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया सुरु गरि करीव १ अर्व ९३ करोडको खरिद सम्झौता भएको छ। गत वर्ष शुरु भएका ७० वटा खरिद क्रियाकलापहरु मध्ये ५७ वटा क्रियाकलापका ६३ वटा खरिद सम्झौताहरु भएको छ। ती खरिद सम्झौताहरु ४१ वटा फरक फरक फर्महरुसंग भएको छ । यसबाट संचार माध्यमहरुमा प्रकाशितरप्रशारित भए जस्तो कुनै एक फर्मसंग मात्रै खरिद कार्य गरेको, आर्थिक हिनामिना गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको तथ्य अवगत गराउन चाहन्छौं,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
