काठमाडौं । अमेरिकाले अल–कायदाका नेता अयमन अल–जवाहिरीलाई अफगानिस्तानमा एक ड्रोन आक्रमणमा मारेको दाबी गरेको छ।
अल–जवाहिरीलाई अल–कायदाको दिमाग मानिन्थ्यो। आँखाका डाक्टर उनले इजिप्टमा इस्लामिक जिहादी समूह बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकाले मारेपछि अल–कायदाको कमाण्ड अल–जवाहिरीको हातमा आएको थियो। ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएका आक्रमणका पछाडि अल–जवाहिरीको योजना नै प्रमुख कारण मानिएको छ। जसका कारण उनलाई अमेरिकाले २२ मस्ट वान्टेड आतंकवादीको सूचीमा राखेको थियो। उनीमाथि २।५ करोड अमेरिकी डलरको पुरस्कार राखिएको थियो।
केही वर्षयता उनी अल–कायदाका प्रमुखको रुपमा परिचित थिए। २००७ मा उनको १६ भिडियो टेप सार्वजनिक भएको थियो, जुन ओसामा विन लादेनको तुलनामा चार गुणा बढी थियो।
अल–जवाहिरीलाई मार्ने अमेरिकी प्रयास यो पहिलो होइन। यसअघि २००६ मा अमेरिकाले अफगानिस्तानसँग जोडिएको पाकिस्तानी सीमामा मिसाइल आक्रमण गरेको थियो, जसमा अल कायदाका चार सदस्य मारिएका थिए। उक्त आक्रमणमा अल–जवाहिरी बँच्न सफल भए।
त्यसको २ सातापछि अल जवाहिरीको एउटा भिडियो सार्वजनिक भएको थियो। जसमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई धम्की दिँदै विश्वको सम्पूर्ण शक्ति उनीसँग नभएको बताएका थिए।