काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेजमा रहेको एकजना महिलाको पाठेघरको टयुमरको दुर्लभ शल्यक्रिया गरिएको छ।
विगत २ वर्षदेखि पाठेघरको समस्याबाट पीडित महिला धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिइन् । आफन्तका अनुसार कोरोना सङ्क्रमणअघिको नियमित स्वास्थ्य परीक्षणका क्रममा करिब पाँचदेखि छ सेन्टिमिटरको मासु पलाएको रिपोर्ट देखिएको थियो।
कोरोनाका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या आएपनि महिलाको स्वास्थ्यमा कुनै असर नभएको बताइएको छ । यद्यपि सोही समयबाट बिरामीको पेट अस्वभाविक रुपमा बढ्दै गएको थियो । कुनै असहजता नभएको र शरीर मोटाएको रूपमा लिएको बिरामीका आफन्तले बताए।
पेटमात्र अस्वभाविक रुपमा बढेपछि विराटनगरमा परीक्षण गराउँदा करिब ४० सेन्टिमिटरको आकारमा ट्युमर देखिएको थियो। बुधबार पथरीशनिश्चरे नगरपालिका–४ की ३९ वर्षीया एक महिलाको पाठेघरमा रहेको ९ किलो २ सय ग्रामको ‘फाइब्रोड’ नामक ट्युमर शल्यक्रिया गरी निकालिएको हो।