काठमाडौं । साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले साउन १ गतेदेखि २० गतेसमम १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात ७६ प्रतिशतले खोप नलाएको जानकारी दिए।
मृत्यु भएका दुईजनाले दोस्रो डोज खोप लगाएको डा. गेलालले बताए । उनका अनुसार मृत्युभएका मध्ये १२ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पाइएको छ।
मृत्यु हुनेमा २१ देखि ८५ वर्ष उमेरका छन् । जसमा २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको मन्त्रालयले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रने मानिसमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढेको उनको भनाइ छ । उनले भने,“पछिल्लो ९० दिनमा नेपालमा प्रवेश गर्ने विभिन्न नाकामा रहेका हेल्थ डेक्सले ८० हजार २९६ जनाको कोरोनाको परीक्षण गरेको थियो ।
परीक्षण गरिएकामध्ये एक हजार २५० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, नाकाहरुमा १४ दिनमा १७ हजार १४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४० जनामा कोरोना पुष्टि भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट र सीमा नाकाहरुमा स्क्रिनिङको दर र परीक्षण बढाउने कार्य अगाडि बढाएको उनले बताए ।