काठमाडौं । पाँचथरको सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ ।
गत शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम नगरपालिका ६ की १९ वर्षीया करिना फागोको आइतबार विहान निधन भएको थियो।परिवार तथा आफन्तले मृत्यु हुनुको कारण अस्पताल तथा स्वास्थ्यकर्मी दोषी रहेको बताउँदै आएका छन्। सुत्केरीको मृत्युपछि आफन्तले होहल्ला र नाराबाजी गर्दै आएका थिए।
अपरान्हतिर जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालकसहित बसेको सर्वपक्षीय बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हो।अस्पताल प्रशासनले मृतकका आफन्तलाई किरिया खर्चस्वरुप तत्काल ५ लाख र नवजात शिशुको शिक्षादीक्षाका लागि बैंक खाता खोलेर थप पाँच लाख गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेलगत्तै आफन्तले शव बुझ्ने भएका छन्।