काठमाडौं । डा.गोविन्द केसीले आज (सोमबार)देखि इलाम अस्पतालमा बिरामी जाँच गरेका छन् ।
उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । आजदेखि २० दिनसम्म उनले सेवा दिने छन् ।केसीले पहाडी भेगका नागरिकलाई जिल्लामै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरिएको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ ।
२७ वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।
केसीले दिनहुँ ५० जनासम्म बिरामी हेर्ने भनिएपनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् ।
उनले आउने भदौ १० सम्म इलाममा बिरामी जाँच गर्ने जनाइएको छ । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । उनले आवश्यक सहयोगसहित सुरक्षा गार्डको समेत व्यवस्था गरिएको बताइएको छ । रासस