काठमाडौं । नेपाल स्वासथ्यकर्मी संघले असमान रुपमा तलब नबढाउनका लागि चेतावनी दिएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै असमान किसिमले तलब वृद्धि गरिएमा त्यसबाट सृजना हुने विरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेहिता नेपाल सरकार स्वयंको हुने चेतावनी दिएको हो।
हालै प्रस्तावमा आएको भनिएको फरक–फरक तलबमानले आम स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमा अन्योल सिर्जना भएको भन्दै महासंघले कुनै पनि बहानामा असमान किसिमले गरिने तलबवृद्धि स्वीकार्य नहुने जनाएको छ।
‘समतामूलक तलबवृद्धिको विधि अवलम्बन गरी निश्चित समय अवधिमा कर्मचारीको तलब वृद्धि हुनुपर्छ भन्ने यस महासंघको मान्यता रहेको छ, यही मान्यताअनुरुप राजपत्रांकित तथा अधिकृतहरुको र राजपत्रअनंकित सहायक, श्रेणीविहीन कर्मचारीको तलब समान रुपले गरिने तलब वृद्धि स्वीकार्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ।