काठमाडौं । भोजपुरमा पछिल्लो समयमा कोरोना संक्रमणको दर बढदै जानका थालेको छ । शिक्षक र बिद्यार्थीहरुमा समेत कोरोना पोजेटिभ देखिए पछि जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका भित्र रहेका सवै बिद्यालयहरु समेत बन्द गरिएको छ।
स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीका अनुसार मंगलवारसम्मको तथ्यांकमा टेम्केमैयुङ गाउँपालिकामा मात्र ५५ जना कोरोना संक्रमित भेटिएका छन भने रामप्रसाद राई गाउँपालिकामा ३ जना गरी जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।
सुचना अधिकारी बुढाथोकीले भने, “परिक्षणका क्रममा टेम्केमैयुङ गाउँपालिका भित्र संख्या दैनिक बढी रहेको छ, सो क्षेत्रमा सावधानी अपनाउन जरुरी देखिन्छ।”
यता पालिका भित्र दिनहु संक्रमण दर बढन थालेकाले जोखिम नियन्त्रणका लागि पालिका भित्रका बिद्यालयहरु बन्द गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए। गाउँपालिकाको निर्णय अनुसार श्रावण २४ गतेबाट आगामी २९ गतेसम्म सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको प्रमुख ढकालले जानकारी दिए।
“शिक्षक, बिद्यार्थीहरुमा समेत कोरोना पोजेटिभ देखिएकाले बर्षे तथा हिउँदै बिदाबाट मिलाउने गरी बिद्यालयहरु बन्द गर्ने निर्णय भएको हो ।” शिक्षा शाखा प्रमुख ढकाले भने।संक्रमण दरमा बृद्धि हुदै गएकाले सावधानी अपनाउन र खोप लगाउन बाँकीहरुले समेत पूर्ण खोपको मात्रा लगाउन जरुरी देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी बुढाथोकीको भनाई रहेको छ ।