काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पताललाई नियमविपरीत बनाएका संरचना भत्काउन ३५ दिनको अल्टिमेटम दिएको छ।सोमबार संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार ३५ दिनको समय दिएको हो।
मंगलबार नर्भिक अस्पताल पुगेका मेयर बालेन शाहले भत्काउने भनिएको संरचनामा रहेका अक्सिजन प्लान्ट, एमआरआईलगायत सार्न लाग्ने समयबारे समितिमार्फत् यकिन गर्न निर्देशन दिएका थिए।
उनले फुटपाथ मिच्ने र सार्वजनिक जग्गा मिच्ने सबै बराबर भएको भन्दै मन्त्रिपरिषद्ले निर्णय गरेर दिएमा महानगरलाई कुनै समस्या नभएको बताएका थिए।यसअघि मंगलबार बिहानै पत्रकार सम्मेलन गर्दै नर्भिकले अस्पताल परिसरमा निर्मित संरचना महानगरले भनेजस्तो २४ घण्टाभित्र भत्काउन नसकिने जनाएको थियो।
सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५ र क्षेत्रफल १–८–१–१ जग्गा अस्पतालले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचना (क्यान्टिन भवनलगायत) सरकार भएको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएको भन्दै महागरपालिकाले मंगलबार २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरले भत्काउन भनेको भवनमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलिसिस सप्लाईजस्ता बिरामीको उपचारमा अति आवश्यक उपकरण राखी बिरामीको सेवा गर्दै आइरहेकाले तत्काल भत्काउन नसकिने बताए।