एजेन्सी । अमेरिकामा देखिएका मंकीपक्सका संक्रमितमध्ये ९९ प्रतिशत पुरुष छन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा महिलाभन्दा बढी पुरुषमा संक्रमण पाइएको हो।
५ अगस्टमा सार्वजनिक गरिएको रिपोर्टमा संक्रमितमध्ये पुरुषबाट पुरुषमै सरेका घटना पनि बढी छन्। १७ मेदेखि २२ जुलाईसम्मको तथ्यांक अध्ययनमा प्रयोग गरिएको थियो।
अमेरिकामा पछिल्लो समय मंकीपक्सका संक्रमण बढ्दो छ। विश्वभर मंकीपक्स फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकीपक्सका आठ हजार नौ सयभन्दा बढीमा संक्रमण पाइएको छ।
यसैबीच, जर्मनीमा बच्चामा पनि मंकीपक्सको संक्रमण भेटिएको छ। चार वर्षीया एक बालिकामा संक्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले जनाएको छ।
इन्स्टिच्युटका अनुसार १५ र १७ वर्षका दुई किशोरमा पनि संक्रमण पाइएको छ। उनीहरूसँगै बस्दै आएकी बालिकामा पनि संक्रमण भेटिएको हो। जर्मनीमा मेयता हालसम्म दुई हजार नौ सयभन्दा बढीमा मंकीपक्स संक्रमण भेटिइसकेको छ।