एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका मानिसमा मधुमेहको समस्या देखिन थालेको छ।
पोस्ट कोभिडमा विभिन्न शारीरिक र मानिसक समस्या लिएर अस्पताल आएका बिरामीमा मधुमेहको समस्या पनि देखिन थालेको चिकित्सकहरु बताउँछन् । कोरोना सङ्क्रमण हुनुभन्दा पहिला मधुमेहको समस्या नभएका मानिसमा कोभिड निको भएपछि मधुमेह पहिचान हुनसक्छ।
पहिलादेखि मधुमेहको जोखिम भएका वा मधुमेह भएकामा सङ्क्रमण भएमा, सङ्क्रमणका कारण अस्पताल भर्ना भएका, उपचारमा स्टेरोइडको प्रयोग भएमा पोस्ट कोभिडमा धेरैजसो बिरामीमा रगतमा चिनीको मात्रा थप बढ्ने, मधुमेह अनियन्त्रित हुनुका साथै रक्तचाप पनि बढ्ने हुनसक्छ।
कोरोना भाइरसबाट सङ्क्रमण भएका कतिपय बिरामीमा उपचारका लागी स्टेरोइडलगायत हाइ पावरको एन्टिबायोटिक तथा औषधिको प्रयोग गर्ने गरिन्छ । जसकारण रगतमा चिनीको मात्रा बढ्न गई मधुमेह हुने जोखिम बढ्छ ।
सङ्क्रमण हुँदा भाइरसले इन्सुलिन उत्पादन गर्ने प्यानक्रियाटिक बिटा सेलहरूलाई पनि आक्रमण गर्नसक्छ । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्ने र मधुमेहको जोखिम गराउन सक्ने अनुमान गरिए पनि भाइरसका कारणले गर्दा नै मधुमेह भएको भनेर प्रमाणित भने भइसकेको छैन।