काठमाडौं । अस्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताको समूह ‘बुर्नेट इन्स्टिच्युट’ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ सङ्क्रमितको सङ्ख्या २० प्रतिशत र मृतकको सङ्ख्या १४ प्रतिशतले घटेको देखिएको छ ।
उनीहरूले फरक–फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख छ । जुनसुकै प्रकारको मास्क लगाए पनि कोरोनाको सङ्क्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताले बताएका छन् । यस अध्ययनबाट कुल सङ्क्रमित र अस्पताल भर्ना भएकाको सङ्ख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ ।