एजेन्सी । हड्डीको विकास तथा हड्डी बलियो बनाउनका लागि बच्चा बेलादेखि दूध खान सल्लाह दिइन्छ ।
दूधले शरीरको क्याल्सियमको कमी पूरा गरेर हड्डीलाई बलियो बनाउँछ । धेरैले दूधलाई क्याल्सियमको सबैभन्दा राम्रो स्रोत मान्ने गर्छन् । शरीरलाई दैनिक एक हजारदेखि १२ सय मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ । तर दुई सय ५० एमएल गिलास दूधमा करिब तीन सय मिलिग्राम क्याल्सियम हुन्छ जसले क्याल्सियमको दैनिक आवश्यकताको २५ प्रतिशत मात्र पूरा गर्छ ।
टोफु, बदाम, दही लगायत केही अन्य खानेकुरामा दूधभन्दा बढी क्याल्सियम पाइन्छ । दुई सय ग्राम टोफुमा करिब सात सय मिलिग्राम क्याल्सियम हुन्छ । प्रोटिन, म्याग्नेसियम र फस्फरोस पनि प्रशस्त पाइने टोफुलाई सब्जी वा सलादको रूपमा खान सकिन्छ । त्यस्तै एक कप हाडे बदामको सेवन गरेमा शरीरले करिब तीन सय मिलिग्राम क्याल्सियम पाउने गर्छ ।
एक कप सादा दही खाँदा शरीरले लगभग तीन सयदेखि तीन सय ५० मिलिग्राम क्याल्सियम पाउँछ । यसबाहेक तिलको दाना, काबुली चाना, चिया सिड्स र कोदोमा पनि क्याल्सियमको निकै राम्रो स्रोत पाइन्छ । चार चम्चा तिलको दानाले शरीरमा तीन सय ५० मिलिग्राम क्याल्सियमको पूर्ति गर्छ ।
दुई कप काबुली चानामा चार सय २० मिलिग्राम, चार चम्चा चिया सिड्स खाँदा करिब तीन सय ५० मिलिग्राम र सय ग्राम कोदोमा करिब तीन सय ४५ मिलिग्राम क्याल्सियम पाइन्छ ।