काठमाडौं । मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।
सञ्चालनमा आएको ४८ वर्षपछि बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका -३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीका अनुसार अस्पतालको इतिहासमै यौ नै पहिलो शल्यक्रिया हो । डाक्टर कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा। तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो ।
२०३१ सालमा स्थापना भएको अस्पताल कूल २५ बेडमा सीमित छ ।