टोकियो । जापानमा एकै दिन दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड (१९ सङ्क्रमण भएको छ। यो संख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो।
कोभिडका कारण जापानमा एकै दिन दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड (१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन्।
यसैबीच, सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ ।
त्यसैगरी उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ ।