काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले स्थापनाको ६३ औं वर्ष पार गरेको छ। शुक्रबार अस्पतालले वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठले शैय्या अभावका कारण बिरामीलाई नफर्काउने अस्पतालको नीति रहेको र प्रसुती सेवामा कुनै कसर बाँकी नराख्ने बताएका छन्।
‘शैय्या कम हुँदा अस्थायी शैय्या राखेर भएपनि बिरामीको चापलाई व्यवस्थापन गर्ने गरेका छौँ,’उनले भने, ‘सिमित स्रोत साधनको बाबजुद पनि विश्वकै नमुनाको रुपमा रहेको स्त्री रोग अस्पतालले गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै २४ हजारभन्दा बढी डेलिभरी गराउन सफल भएका छ । ती महिलाबाट २४, ५९३ शिशुको जन्म भएको सुनाउन पाउँदा गौरवान्वित छु।’
अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको र एमएचरएमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको उनले बताए। यसै शैक्षिक सत्रबाट अस्पतालले आइभीएफ शिक्षाको फेलोसीपसमेत संचालन भएकोले निस्सन्तान दम्पतिको उपचारमा सहज हुने विश्वास लिएको प्रा.डा. श्रेष्ठको भनाइ छ। हाल अस्पतालमा संचालित आइभीएफ सेवा स्तरोन्नति गर्दै दिइएको सेवाबाट १८ जनाले सो सेवा लिएका छन्।