एजेन्सी । रक्सीको सेवन स्वास्थ्यका लागि राम्रो मानिँदैन । तर, कतिपय अवस्थामा रक्सीले स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।
अमेरिकन हार्ट एसोसिएसनमा प्रस्तुत गरिएको अनुसन्धानले खानासँगै एक गिलास वाइन पिउनाले टाइप–२ मधुमेहको जोखिम कम हुने जनाएको छ । अनुसन्धानका अनुसार खानासँगै वाइन सेवन गर्ने मानिसमा टाइप–२ मधुमेहको जोखिम १४ प्रतिशतले घटेको थियो । महिलाका लागि दिनमा एक गिलास र पुरुषका लागि दुई गिलास वाइन पिउनु फाइदाजनक हुने अध्ययनले पत्ता लगाएको हो ।
तीन लाख १२ हजार मानिसमा गरिएको अध्ययनमध्ये आठ हजार ६ सयलाई टाइप २ मधुमेह भएको थियो । अध्ययनले धेरै वाइन पिउनुको कुनै फाइदा नभएको पनि देखाएको छ । वाइन सही मात्रामा सेवन गर्नुपर्छ । खानासँग मात्र वाइन सेवन गर्नु फाइदाजनक हुन्छ । यसलाई छुट्टै पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन ।
साथ, अन्य प्रकारको रक्सी पिउनाले पनि फाइदा गर्दैन । यो अनुसन्धान अहिलेसम्म कुनै पनि वैज्ञानिक जर्नलमा प्रकाशित नभएको हुनाले वाइन नपिउने मानिसले आफ्नो डाक्टरसँग कुरा गर्नुपर्छ । रक्सी सेवन नगर्ने मानिसले दैनिक वाइन पिउन नहुने भनेर अन्वेषकहरूले स्पष्ट रूपमा सल्लाह दिएका छन्।
यसअघि पनि एक अनुसन्धानमा टाइप २ मधुमेहका बिरामीमा वाइन पिउनाले मृत्युको जोखिम कम हुने देखाएको थियो । मधुमेहको उच्च जोखिम नभएको, रक्सी नपिउने मानिसले वाइनको सेवन गर्न सुरु गर्नुको कुनै अर्थ छैन ।