काठमाडौं । खोप लगाएको ठाउँ वा हात दुख्नु कोभिड खोप लिने व्यक्तिहरूले रिपोर्ट गर्दै आएका सबैभन्दा सामान्य साइड इफेक्ट हुन् । यो खोप लगाएपछि देखिने हल्का प्रतिक्रिया हो । खोपहरूलाई भाइरसको नक्कल गरेर बनाइएको हुन्छ । खोप शरीरमा भित्रिएपछि शरीरलाई रोगजनकबाट बचाउन कोसिस गर्नका लागि शरीरको प्रतिरक्षा प्रणालीले यसविरुद्ध प्रतिक्रिया दिन्छ । जसको फलस्वरूप शरीरमा विभिन्न प्रतिक्रिया निम्त्याउँछ ।
कोभिड खोपलाई इन्ट्रामस्क्युलर इन्जेक्सनमार्फत दिइन्छ अर्थात सीधा मांसपेशीहरूमा इन्जेक्सन गरिने गर्छ । जसकारण खोपले इन्जेक्सन लगाएको ठाउँमा इन्फ्लामेसन (सुन्निने प्रतिक्रिया) गराउँछ । साथै इन्जेक्सनका कारण पनि हात दुखेको हुनसक्छ । खोप लगाएपछि भएको दुखाइ एक वा दुई दिनसम्म रहन सक्छ र यो चिन्ताको विषय होइन ।
दुखाइ कम गर्नका लागि हात निरन्तर र विस्तारै चलाइरहन विशेषज्ञहरूले सल्लाह दिएका छन् । यसले रक्त प्रवाहलाई बढाएर दुखाइ कम गर्न मद्दत गर्छ । दुखाइ कम गर्नका लागि आइस कम्प्रेसको पनि प्रयोग गर्न सकिन्छ । विज्ञहरूका अनुसार खोप लगाएपछि भएको हात दुखाइ प्रतिरक्षा प्रणालीले काम गरिरहेको सङ्केत हो वा खोपप्रति शरीरको प्रतिरक्षा प्रतिक्रिया हो ।
यसबाहेक, खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने जस्तो देखिन सक्छ । खोप लगाएको ठाउँमा देखिने समस्याबाहेक खोप लगाएका मानिसमा ज्वरो, थकान, वाकवाकी लाग्ने तथा शरीरमा दुखाइ हुने हुन्छ ।