एजेन्सी । जापानले आगामी सेप्टेम्बरदेखि अधिकांश मुलुकबाट आउने मानिसहरुको लागि अनिवार्य पीसीआर परीक्षणको नियम हटाउने भएको छ।
बुधबार जापानका प्रधानमन्त्री फुमिओ किशिदाले पूर्णमात्रामा कोरोना खोप लगाएका मानिसहरुलाई सेप्टेम्बर ७ देखि पीसीआर परीक्षणको नतिजा देखाउन नपर्ने बताएका हुन्। जापानको पर्यटन बोर्डले पूरा डोज कोरोना खोपको लागि कोरोना खोपको तीन डोज लगाएको हुनुपर्ने उल्लेख छ। कोरोना खोपको दुई डोज मात्र लिएका मानिसले भने अझै पनि पीसीआरको रिपोर्ट आवश्यक पर्छ।
अहिले जापानमा प्रतिदिन २० हजार पर्यटक मात्र प्रवेश गर्न पाउँछन्। गत जुनमा यो संख्या १० हजार थियो। जापानको राष्ट्रिय पर्यटन संघका प्रवक्ताले पीसीआर रिपोर्ट देखाउनु नपर्ने निर्णय प्रतिबन्ध खुकुलो पार्ने दिशातर्फको एक महत्वपूर्ण कदम रहेको प्रतिक्रिया दिएका छन्।