एजेन्सी । एक गर्भवती महिलाको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्री डा. मार्टा टेमिडोले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । ठाउँ अभाव भएपछि एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । विगत केही महिनादेखि पोर्चुगलको डेलिभरी अस्पतालहरूमा कामदारको अभाव भएको बताइएको छ ।
डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार, प्रधानमन्त्री एन्टोनियो कोस्टाले गर्भवती महिलाको मृत्यु नै स्वास्थ्य मन्त्री टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ सावित भएको बताएका छन् ।
प्रधानमन्त्री कोस्टाले विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको बताएका छन् । प्रधानमन्त्री कोस्टाले स्वास्थ्यमन्त्री टेमिडोलाई उत्कृष्ट कामका लागि धन्यवाद पनि दिएका छन् । पोर्चुगलको सबैभन्दा ठुलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा ठाउँ अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसै क्रममा उनको मृत्यु भएको थियो ।
गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसियूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ । बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । महिलाको मृत्युबारे अनुसन्धान पनि सुरू गरिएको छ ।