काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिगको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।
एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको हो ।
‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।