भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका १६ हजारभन्दा बढी बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप लगाइएको छ ।
खोप दिने लक्षित ५ देखि ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।
पहिला मात्र खोप लगाएकाहरुका लागि पुन दोश्रो मात्राको खोप अभियान संचालन गर्न लागिएको बुढाथोकीले बताए । उनका अनुसार हालसम्म १६ हजार ५ सय २४ बालबालिकाले खोप लगाएका छन् ।
आगामी भाद्र २७ गते दोश्रो चरणको अभियान सुरु हुने छ । खोपका लागि तोकिएको उमेर समुह बिद्यालयमा बढी हुने भएकाले बिद्यालय र स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र कायम गरिएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भोजपुरमा अहिलेसम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोना बिरुद्धको खोप लगाई सक्नु भएको छ । खोपबाट बञ्चित हुन नपरोस भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने ब्यवस्था गरिएको छ ।